News Griha :: न्यूजगृह
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग

काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गरेका छन् । 

आज प्रतिनिधि सभाको विशेष समयमा पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली यही १३ वैशाखमा आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले गरेको साङ्घातिक आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए । 

सो घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेको काठमाडौंमा ल्याएर उपचार गर्न सरकारसँग माग गरे । घटनामा संविधान सभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै नेता पौडेलले भने, ‘देशमा सरकार छ कि छैन ? संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्ता निकट मानिस संलग्न रहेको अध्ययनले देखाएको छ । उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी छ ।’

उनले शान्ति सुरक्षा जनताको अधिकार भएको र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे । उनले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गरे । 

नेता पौडेलले केही दिनअघि काठमाडौंमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाइ कारबाही गर्न माग गरे । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १६:००
Weather Update