काठमाडौं— बङ्गलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन्।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन्। केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन्।
आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छोडेकी हुन्। यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन्। बङ्गलादेश टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भीड जम्मा भएको जानकारी दिएको छ।
उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ।
बङ्गलादेशमा केही समय मत्थर बनेको सरकारविरोधी आन्दोलन आइतबारदेखि पुनः चर्किएको थियो। आइतबार बङ्गलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको थियो।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ। राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ।