News Griha :: न्यूजगृह
लेबनानमा रहेका नेपाली कति सुरक्षित ?

काठमाडौं— पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण लेबनानमा रहेका नेपालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ। त्यहाँ करिब १२ सयको हाराहारीमा घरेलु कामदार रूपमा नेपालीहरू रहेको बताइएको छ।

लेबनानमा सबै नेपाली सुरक्षित रहेको त्यहाँस्थित नेपालका लागि अवैतनिक महावाणिज्य दूत एलचेख मोहम्मद विशाम घोउजायलले बताएका छन्।

‘नेपालीहरू सुरक्षित छन्। उनीहरूमध्ये धेरैजसो आफ्ना रोजगारदाताहरूसँग सुरक्षित क्षेत्रमा काम गरिरहेका छन्, चाहे बेरुतमा होस् वा लेबनानको पहाडी क्षेत्रमा,’ अवैतनिक महावाणिज्यदूत घोउजायलले भने, ‘हामी रोजगारदाताहरूसँग निरन्तर सम्पर्कमा छौँ। कुनै पनि आपतकालीन अवस्था आइपरे इजिप्टको कायरोस्थित नेपाली दूतावास र नेपाली परराष्ट्र मन्त्रालयसँग समन्वय गरिनेछ।’

उनले अहिलेसम्म कुनै पनि कूटनीतिक नियोगले निकास वा यात्राका लागि आह्वान नगरेको पनि जानकारी दिए। उनले थपे, ‘यस क्षेत्रको अवस्था अस्पष्ट छ र हामी उपयुक्त निर्णय लिन समय पर्खिइरहेका छौँ।’

उनले बेरुतस्थित महावाणिज्य दूतावास र कायरोस्थित नेपाली राजदूतावासले नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि समयमा आवश्यक सहयोग उपलब्ध गराउन अथक प्रयास गरिरहेको प्रस्ट पारे।

‘हामी नेपालीलाई सुरक्षित ठाउँमा बस्न, स्थानीय अधिकारीको निर्देशन पालना गर्न र आवश्यक परे तुरुन्तै हामीलाई सम्पर्क गर्न आग्रह गर्दछौँ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:२८
Weather Update