News Griha :: न्यूजगृह
जसपा नेपालले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं— जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित एक ब्याङ्क्वेटमा बस्ने गरी आह्वान गरिएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भूराजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध लगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ।’

यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ।

गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए।  

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:४२
Weather Update