News Griha :: न्यूजगृह
माधव नेपालकै गृह जिल्लामा नेकपा एस कमजोर, पूर्वराज्यमन्त्री यादवसहित २० जना एमालेमा फर्किए

रौतहट— रौतहटमा नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलो झट्का लागेको छ।

मधेस प्रदेशका पूर्व वन राज्यमन्त्री नागेन्द्र यादवसहित २० जना आइतबार नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

यसले गर्दा रौतहटमा एकीकृत समाजवादी पार्टी कमजोर बनेको आकलन गरिएको छ। रौतहट एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृह जिल्ला हो। 

नागेन्द्र यादव २०७४ सालमा प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नं ३ को (१) बाट नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचित बनेका थिए। उनले मधेस प्रदेशको वन राज्यमन्त्रीको पदसमेत पाएका थिए। 

पार्टी विभाजनपछि उनले माधव नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टीमा सहभागिता जनाएका थिए। तर, हालै यादवले एकीकृत समाजवादी पार्टी परित्याग गर्दै पुनः एमालेमा फर्किएका हुन्।

यादव र उनका समर्थकहरूको एमालेमा प्रवेशले एमालेको शक्ति बढेको छ भने, एकीकृत समाजवादी पार्टी कमजोर भएको छ। यसले आगामी निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने सम्भावनासमेत बढाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:११
Weather Update