News Griha :: न्यूजगृह
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह दुर्घटनामा घाइते, नर्भिकमा उपचार हुँदै

काठमाडौं— अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह दुर्घटनामा परी घाइते भएकी छन् । स्कुटर चलाएर कोटेश्वरबाट एअरपोर्टतर्फ जाँदै गरेकी सिंहलाई शुक्रबार बिहान करिब १०ः१५ बजे कोटेश्वर महादेवस्थानस्थित मदन भण्डारी पार्क नजिकै विपरीत दिशाबाट आएको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । डाक्टरको सल्लाहअनुसार सिंहको सिटी स्क्यान गरिएको र रिपोर्ट सामान्य रहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले जानकारी दिए । 

अध्यक्ष सिंहसँगै रहेका रावलले डाक्टरले अस्पतालमै भर्ना गर्न सुझाव दिएको बताए । 'उहाँको भुईँमा बजारिदा टाउकोमा चोट लागेको छ । त्यसैले डाक्टरको सल्लाहअनुसार सिटी स्क्यान गरिएको छ । तर, रिपोर्ट सामान्य देखिएको छ,' अखिल क्रान्तिकारीका उपाध्यक्ष रावलले भने, 'रिपोर्ट सामान्य आए पनि उहाँलाई अस्पतालले भर्ना गरेर राख्न भनेको छ ।'

घाइते सिंहको अवस्था सामान्य भए पनि तत्काल बोल्न सक्ने अवस्था नभएको बताएको छ ।  

सिंह आफ्नो श्रीमान् केशव शाहीसँग एअरपोर्टतर्फ जाँदै गरेकी थिइन् । उनका श्रीमान् शाहीलाई भने केही नभएको बताइएको छ । अध्यक्ष सिंहको स्कुटरलाई हानेर फरार स्कुटरको बारेमा समेत केही पत्ता लाग्न सकेको छैन ।

यस विषयमा न्यूजगृहले प्रहरीसँग सोध्दा घटनाका बारेमा कुनै जानकारी नभएको बताएको छ । कोटेश्वर प्रहरी बिटसँग घटनाबारेमा बुझ्दा घटनाबारे केही जानकारी नभएको बतायो ।  

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:०८
Weather Update