सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहको शपथ आज, मन्त्रिपरिषद्लाई पनि आजै पूर्णता दिने तयारी

धनगढी— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन्।
आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपरान्ह ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।
सुदूरपश्चिममा आजै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी छ। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको स्रोतले बतायो।
स्रोतका अनुसार कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा पनि टुङ्गो लागिसकेको छ।
सात सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एक मन्त्रालय दिनेगरी भागबन्डा टुङ्गिसकेको छ।
मन्त्रालय र मन्त्रीहरूको नाम टुङ्ग्याएर आजै शपथ ग्रहण गराउने तयारी रहेको स्रोतले बतायो।
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ ०७:४८