News Griha :: न्यूजगृह
मुलुकभर ३४ हजार २६७ किमि सडक विस्तार
फाइल तस्बिर।

काठमाडौं— मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका महानिर्देशक रामहरि पोखरेलले आर्थिक वर्ष २०८०–८१ को फागुन मसान्तसम्म १८ हजार २४१ किलोमिटर कालोपत्र, ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल र ८ हजार ३२९ किलोमिटर कच्ची सडक विस्तार भएको बताए।

गत आवमा सडक निर्माणका लागि करिब १ खर्ब ७ अर्ब २६ बजेट विनियोजन (संशोधन सहितका) भएकामा कूल खर्च ६९ दशमलव ५२ प्रतिशत खर्च भएको छ। जसमध्ये ८५ दशमलव ४० प्रतिशत चालुतर्फ, ६९ दशमलव १७ प्रतिशत पुँजीगततर्फ खर्च भएको सडक विभागको तथ्याङ्क छ।

यसैगरी, राष्ट्रिय गौरवका आयोजनामध्ये पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाअन्तर्गत एक हजार चार सय ५२ किलोमिटर सडक र एक सय पाँच पुल निर्माण सम्पन्न भएको छ। यस आयोजनाको भौतिक प्रगति ७६ दशमलव ९५ र वित्तीय प्रगति ८० दशमलव ८२ प्रतिशत भएको विभागले जनाएको छ।

हुलाकी राजमार्ग आयोजनाको भौतिक प्रगति ६६ दशमलव ११, वित्तीय प्रगति ६१ दशमलव ९९ प्रतिशत र कोशी करिडोरमा २ किमि सडक कालोपत्र र १० वटा पुलको निर्माण सम्पन्न भएको छ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड (२४५ किमि) अन्तर्गत १९) किमि र मालढुङ्गा–बेनी–जोमसोम खण्ड (२०२ किमि ) अन्तर्गत ५१ किमि कालोपत्र सडक निर्माण भएको छ। यसैगरी, कर्णाली करिडोरअन्तर्गत (दुई सय ६९ किमि) हुम्ला जिल्ला सदरमुकाम सिमीकोट पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको विभागको तथ्याङ्कमा उल्लेख छ।

पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिबास निजगढमा ६५ किमि ‘ट्र्याकबेड’ र १३ वटा रेलवे पुलको निर्माण भएको छ। जसको भौतिक प्रगति ४५ दशमलव चार, वित्तीय प्रगति ४५ दशमलव ३३ प्रतिशत भएको विभागका महानिर्देशक पोखरेलले बताए। 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:४०
Weather Update