ललितपुर— प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।
सडक विभागले आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीले सडकको सुरक्षा र मानिसको सुरक्षा हुने गरी चालु योजना सम्पन्न गर्न निर्देशन दिए।
‘मानिसलाई आवश्यक नै नहुने वन र भीरमा सडक खनेर कुनै फाइदा छैन, मानव बस्ती छुने र छोटो हुनेगरि सडक निर्माण गर्न आवश्यक छ, अनावश्यक ठाउँमा ‘ट्र्याक’ खोलेर उपयुक्त हुँदैन, भीरमा बाटो लगेर मानिसका लागि फाइदा हुँदैन, यसका लागि ध्यान दिन जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने।
उनले राजनीतिक दबाबका आधारमा जनतालाई फाइदा नहुने ठाउँमा सडक निर्माणमा ध्यान दिनु आवश्यक नभएको बताए। ‘एउटै खालका योजना पटकपटक बनाउने भन्ने हुँदैन, सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरि काम गर्नु आवश्यक छ । वन विभागसँग समन्वय राखेर काम गर्नुहोला,’ उनले भने।
प्रधानमन्त्री ओलीले योजनालाई आवधिक योजनामा वितरण गरेर काम गर्न उचित भएको उल्लेख गर्दै अन्तर मन्त्रालयबीच समन्वय गरेर परिणाम आउनेगरी काम काम गर्न सुझाव दिए। आफू पहिलो पटक प्रधानमन्त्री भएको समयमा पूर्वाधारको विकासमा जोड दिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले देशलाई दिगो र टिकाउ हुने पूर्वाधार निर्माणको आवश्यकता परेको उल्लेख गरे।
नेपाललाई पानीजहाज र रेलमार्गको सञ्जाल विस्तार गरेर अन्तरदेशीय र सहज यातायात सञ्चालनको योजना तर्जुमा गर्न आवश्यक रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले २०४६ सालपछि गरिएको निजिकरणले उपलब्धि दिन नसकेको बताए। उनले ७० देखि ८० को दशक राजनीतिक प्रगतिको दशक मात्रै नभई आर्थिक प्रगतिको दशक पनि भएको बताए।
पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ। ठूला भन्सार पनि खोलौँ। सबै काम त्यहीँबाट हुन्छ। यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ,’ भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी र इन्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुपर्छ हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्छ। त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ। पूर्वपश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ। काठमाडौंमा जमिनमुनि रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुपर्छ।’