News Griha :: न्यूजगृह
मनाइयो भोटो जात्रा

काठमाडौं— रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आइतबार भोटो जात्रा देखाइएको छ।

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरे। उनले जीवित देवी कुमारीको दर्शन पनि गरे।

ramchandra_paudel_president-1722783252.jpgवर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबार, टंगाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो। यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ।

rato_machhindranath-1722783252.jpgगत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो। रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो। यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो।

जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ। भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पुर्‍याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:४०
Weather Update