
धनगढी — सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। आइतबारको नियुक्तिसँगै शाह दोस्रो पटक मुख्यमन्त्री भएका हुन्।
दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए ।
एमालेको समर्थनमा निर्धारित समयभित्र शाहले दाबी पेस गरेका थिए। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा पारिएको थियो।
यसबीचमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट गरि चार जना मुख्यमन्त्रीका आकांक्षी थिए। अन्ततः सभापति देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसंगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन्। शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए। गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए।