भोजपुर— बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुट्न थालेका छन्।
वर्षौँदेखि बाँझो रहेको खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछी कृषक उत्साहित भएका छन्।
ड्रागन फ्रूटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रूट कम्पनी’ले व्यावसायिक रूपमा खेती गरेको छ।
झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रूटको खेती गरिएको छ। ड्रागन फ्रूटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताए। यस वर्ष आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुने उनको अनुमान छ।
यस्तै टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रूट र कागती खेती गर्दै आएका छन्। बाँझो जमिनमा चार वर्ष अघि ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उनले बताए। नेपालले हाल वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
सिँचाइ अभाव, बसाइँसराई लगायत कारण बाँझिएका जमिनमा लगाइएको ड्रागन फ्रूट, एभोकाडो, कागती, टिमुर र किवीबाट वार्षिक मनग्गे आम्दानी लिन थालेको कृषक कमल भुजेलले बताए।
जिल्लाको पूर्वीपौवादुङ्मा गाउँपालिकाको छोकिमालामा विगत पाँच वर्षदेखि बाँझिएको ३० रोपनी जग्गामा तीन वर्ष अघि कृषक भुजेलले टिमुर, एभोकाडोलगायतको खेती गर्दै आएका छन्।
गाउँघरमा रहेका बाँझो जग्गाको सही सदुपयोग गर्न सकिएमा यसले वैदेशिक रोजगारीमा जाने युवाको ध्यानसमेत तान्ने स्थानीय इन्द्र थापाले बताए।
अर्का कृषक हरि गौतमले पछिल्लो समयमा देखिएको कृषकमा फलफूल मोहले बाँझिएको जग्गाको सदुपयोग मात्र नभएर आम्दानीसमेत भइरहेको बताए।
यस्ता कृषकलाई स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाइ छ।