News Griha :: न्यूजगृह
अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय खारेज गर्न एमालेको माग

काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओवादीका अयोग्य लडाकुहरूलाई दुई लाखका दरले राहत उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । 

शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले मुलुकको आर्थिक अवस्था भयावह भएको बेला सरकारले सो निर्णय गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् । 

उनले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी सो रकम दिने निर्णय आफ्नो पार्टीलाई कुनै पनि हालत स्वीकार्य नहुने बताए । 

सरकारले सो निर्णय तत्काल खारेज नगरे आफ्नो पार्टी त्यसको विरुद्धमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने प्रमुख सचेतक गिरीको चेतावनी थियो । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गराउन सरकार नलागेको आरोपसमेत लगाए । 

प्रमुख सचेतक गिरीले झापामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा सत्ता पक्षकै मिलेमतोमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि ढुंगामुडा प्रहार गर्ने कोसिस गरिएको भन्दै निन्दा र भर्त्सना गरे । उनले घटनामा संलग्नहरूलाई सत्तापक्षले उन्मुक्ति दिने प्रयास गरिरहेको भन्दै आक्रोशसमेत व्यक्त गरे । 

यस विषयमा एमाले प्रमुख सचेतक पदम गिरीले संसदमा गरेको सम्बोधनको अंश : ‘देशको अर्थतन्त्र संकटग्रस्त छ । भयावह अवस्थामा छ । हामी सबैलाई थाहा छ । आज राज्यकोषमा रकम नभएको भन्दै ८० अर्बभन्दा बढी विभिन्न आयोजनाहरूलाई दायित्व भूक्तानी दिनुपर्ने अवस्था छ । १५ अर्ब शिक्षक र कर्मचारीहरूलाई पेन्सन दिन दायित्व भुक्तानी बाँकी छ । ५ अर्ब वृद्धवृद्धाहरूलाई अहिले सामाजिक सुरक्षा भत्ता दिन सरकारले बाँकी नै छ । ५ अर्बभन्दा बढी बीमा र विपन्न कार्यक्रम अन्तरगत राज्यले दायित्व भुक्तानी गर्नुपर्नेछ । जसका कारणले बिमितहरूले उपचार नगर्न नपाइरहेको अवस्था छ । २० अर्ब राज्यले तिर्नुपर्ने साँवा र ब्याँज तिर्न नसकेको अवस्था छ । यस्तो दूरावस्था छ । र, अहिले अनिवार्य दायित्व १ खर्ब २० अर्बभन्दा बढी छ । यस्तो भयानक स्थित हाम्रो अगाडि छ सभामुख महोदय । अहिले सुन्दैछु, हामी सुन्दैछौँ, हिजो मात्रै क्याबिनेटबाट एउटा निर्णय भएको छ । स्थानीय र प्रदेश सरकारलाई दिने समानीकरण अनुदानमा ५० प्रतिशत बजेट कटौती गरिएको छ । जसले गर्दा अहिले प्रदेश र स्थानीय तहका सम्पूर्ण योजनाहरू कार्यान्वयन नहुने अवस्थामा पुगेका छन् । त्यहाँका कर्मचारुी तलब खान नसक्ने अवस्थामा पुगेका छन् । र, नियमित काम पनि हुन नसक्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा देश जाँदैछ सभामुख महोदय । तर, हामीले सुन्नु परेको छ । आज माओवादीका अयोग्य लडाकुको नाममा करिव ४८ सय भन्दा बढी व्यक्तिहरूलाई राज्यकोषबाट, ढुकुटीबाट २/२ लाख नगद निकालेर बाँड्ने खालको चलखेल हुँदैछ । र, कार्यविधि बनाएर पैसा बाँडिदै छ भन्ने सुनिएको छ । हामीलाई भन्नुपर्ने कुरा के छ भने सभामुख महोदय, १ अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि चालू आर्थिक वर्षमा छुट्टयाइयो । तर, आज सत्य निरूपण तथा मेलमिलापको काम थाती राखिएको छ । त्यतातर्फ सरकारको चिन्ता छैन । त्यसबाट पैसा निकालेर धमाधम कार्यकर्ताहरूलाई लडाकुहरूको नाममा पैसा बाँडिन्छ । हाम्रो प्रश्न छ सरकारलाई सभामुख महोदय । हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरू पछि पुनः प्रमाणीकरण हुँदाखेरी त्यतिखेर २४५१ जना को थिए भन्ने यकिन गर्न सकिएन । ती व्यक्ति कहाँ हराए ? थाहा भएन । तिनका नाममा ९५ करोड रुपैयाँ पैसा तत्कालीन माओवादी नेतृत्वले त्यो पैसा लिएर गयो । त्यो पैसा कहाँ गयो ? महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठेको छ । त्यसको जवाफ आज पनि अनुत्तरित अवस्थामा छ । हामी भन्छौँ, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसोच्ने । त्यहाँ भन्दा अगाडि बढन नचाहने । अनि, देशको ढुकुटीबाट दिनहुँ पैसा निकालेर लिएर जाने, गरिबले नुन किनेर खान सक्ने अवस्था छैन । तेल, चिनी किनेर खान सक्ने अवस्था छैन । तरकारी किनेर लगेर खान सक्ने अवस्था छैन । गरिब मर्ने स्थिति पुगिसकेको छ । तर, राज्यसत्ताबाट यस्तो प्रकारको दोहन हुँदै छ कि आज देश दिनदहाडै लुटिएको छ सभामुख महोदय । त्यस्तो कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्यछैन । र, यो निर्णय तत्काल खारेज होस भन्ने कुरा हामीले माग गरिरहेका छौँ । यो कुरालाई सुन्ने काम भएन भने, यसलाई नजरअन्दाज गर्ने यसको विरुद्धमा जस्तोसुकै कदम उठाउन पनि हामी तयार छौँ भन्ने कुरा म राख्न चाहन्छु सभामुख महोदय ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:४२
Weather Update