News Griha :: न्यूजगृह
कर्णालीमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ

सुर्खेत— कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ। एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन्।

नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

कांग्रेसले गत शुक्रबार नै आफ्ना तर्फबाट मन्त्री हुने सांसदहरूको नामावली मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो। तर मुख्यमन्त्री कँडेलले अर्थ मन्त्रालय आफैसँग राख्न खोजेपछि त्यस दिन मन्त्रीहरूको नियुक्ति र शपथ हुन सकेको थिएन।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ। कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने भएका छन्।

नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:१०
Weather Update