News Griha :: न्यूजगृह
एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

काठमाडौं— प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन्।

मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै अध्यक्ष ओलीले पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको बताए।

‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्। पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो। त्यही कारण विभाजन पनि भयो। अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न।’

उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए। ओलीले आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि निदिने बताए। 

उनले पार्टीमा अस्वस्थ तरिका नअपनाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न निर्देशन दिए। उनले विनम्रता, शालीनता र कम्युनिस्ट आचार भित्र बस्न पनि केन्द्रीय सदस्यहरूलाई सचेत गराए। 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १४:२९
Weather Update