
काठमाडौं— सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्।
सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकाङ्क्षा देखाएका थिए।
तर संसदीय दल नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएका हुन्। दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार नै नयाँ सरकार गठनको आह्वान गरेका थिए। उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय तोकेका छन्।
सोही अनुसार आज कांग्रेसले शाहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने ती सांसदले जानकारी दिए। कांग्रेस, एमाले र नागरिक उन्मुक्तिका सांसदहरूको समर्थनमा शाहले आज साँझसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। शाहले यसअघि १४ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
औपचारिक निर्णय गर्नका लागि कांग्रेसले आइतबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ। मन्त्रीमा भने नयाँ अनुहार पठाउने तयारी कांग्रेसको छ।
यस्तै एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने निर्णय गरिसकेको छैन। सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए।
नागरिक उन्मुक्ति पार्टीले भने आफ्नो भागमा पर्ने मन्त्रीको नाम टुङ्गो लगाइसकेको छ।
नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्ने छन्।