News Griha :: न्यूजगृह
भोटो देखाउने जात्रा आज, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं— वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदैछ। मच्छिन्द्रनाथको रथलाई ललितपुरको थटीटोलबाट तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउने साइत जुरेको हो।

आज दिउँसो देखाइने भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट ब्यक्तिहरू सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ।

१ हजार ३ सय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवम् थटीटोलबाट जावलाखेल रथ तान्ने साइत हेर्ने समूहका सदस्य कीर्तिमदन जोशीले जानकारी दिए। यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुने गर्दछन्।

मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि शुक्रबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्‍याइन्छ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ। भोटो जात्राको अवसरमा सरकारले  काठमाडौं उपत्यकामा सार्वजानिक बिदा दिएको छ। 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०६:४०
Weather Update