
बारा– बारा प्रहरीले कलैयास्थित पेप्सी, स्प्राइट, डियू र कोकाकोलासमेतको डिलरमा छापा मारेको छ।
म्याद गुज्रेका पेय पदार्थ बिक्रीवितरण भइरहेको सूचनाको आधारमा प्रहरीले शनिबार बिहान कलैया उपमहानगरपालिका–१ राजदेवी टोल बस्ने अमित केसरीले सञ्चालन गरेको केसरी एण्ड केसरी सन्स इम्पेक्समा छापा मारेको हो।
प्रहरी निरीक्षक जटाशङ्कर यादवको कमान्डमा खटिएको प्रहरी टोलीले छापामार्दा पेप्सी, स्प्राइट, माउन्टेन डियू, सेभेनअप, स्लाइस र मिरिन्डा गरी ४ सय ८२ क्यारेटमा रहेको ११ हजार ५६८ बोतल पेय पदार्थ नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएको पेय पदार्थको बजार मूल्य करिब ८ लाख १९ हजार ४ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए। नियन्त्रणमा लिइएको पेय पदार्थ सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको यादवले बताए।
यसबाट बजारमा म्याद नागेका कोल्ड ड्रिङ्क्स छ्यापछ्याप्ती रहेको सहजै अनुमान लगाउन सकिन्छ।













