काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।
सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् । उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताए ।
‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका थियौँ,’ उनले भने, ‘त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर भन्दापनि गम्भीर आपत्ति छ ।’
उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।
उनले आफूहरूले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताए ।
शुक्रबार सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।