News Griha :: न्यूजगृह
देशभर २५ जनामा हैजा पुष्टि, सुरक्षित रहन के गर्ने?

काठमाडौं— देशभर २५ जना हैजाका बिरामी फेला परेका छन्। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हालसम्म सो सङ्ख्यामा हैजाका बिरामी फेला परेको जनाएको छ। 

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले काठमाडौं, ललितपुर र कैलालीमा हालसम्म २५ जनामा हैजा पुष्टि भएको बताए। उनका अनुसार ललितपुरमा १६, काठमाडौंमा एक र कैलालीमा ८ जना हैजाका बिरामी फेला परेका छन्। 

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ। 

सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने घिमिरे बताए। 

हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावना हुने गर्दछ। हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खानु हुँदैन। 

पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेरमात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनको साथै चर्पीको प्रयोग र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात हुन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:१९
Weather Update