News Griha :: न्यूजगृह
रास्वपा ‘क्लोज क्याम्प’ले के निकाल्यो निष्कर्ष?

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न केन्द्रीय समितिलाई सुझाव दिएको छ।

शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बन्द कार्यशालाले केन्द्रीय समितिलाई विभिन्न १५ विषयमा सुझाव दिएको छ। 

जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेस गर्न सुझाव दिएको छ।

शासकीय स्वरूपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्न, देशका गाउँदेखि विदेशका शहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, स्थानीय तहमा छायाँ सरकार गठनको अभ्यास थालनी गर्न पनि बन्द कार्यशालाले सुझाव दिएको छ।

पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समितिलाई विस्तार गरेर देश विदेशमा रहेका सबैलाई जोड्न पार्टी पिलर्स अवधारणा लागू गर्ने, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको नियमावली र कार्यविधि भदौ मसान्तभित्र तयार गर्न पनि सुझाव दिएको कार्यवाहक प्रवक्ता झाले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:२८
Weather Update