News Griha :: न्यूजगृह

धनुषा— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् । 

शुक्रबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका छन् । 

‘कसैकसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ?,’ उनले भने, ‘अरूलाई बडो उपदेश दिने मान्छेहरू । जब जनताले नै भने कि तपाईंहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदाखेरि गर्छन् के ?’

उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए । उनले जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बीचमा बाँडफाँट हुने बताए । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए । 

अध्यक्ष नेपालले समाजवादमा प्रतिबद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए । उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताए । 

उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए । 

उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरू सँग विलय भने नहुने स्पष्ट पारे । आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ । 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १३:२२
Weather Update