News Griha :: न्यूजगृह
एकीकृत समाजवादीको केन्द्रीय समितिले पायो पूर्णता, यी हुन् थपिएका २ सय ५१ सदस्य

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले पूर्णता पाएको छ। पछिल्लो महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन भएकामा शुक्रबार बसेको पहिलो केन्द्रीय समितिको बैठकले २ सय ५१ जना थप गर्दै पूर्णता दिएको हो।

यसअघि एकीकृत समाजवादीले केन्द्रीय समिति २१ पदाधिकारीसहित २ सय ९९ सदस्यमा सीमित गर्ने भनेको थियो। तर, दाबेदार धेरै भएपछि नेता-कार्यकर्ताको व्यवस्थापनका लागि सङ्ख्या बढाएर ३ सय ४४ बनाएको हो।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेकका पदाधिकारीको चयन बाँकी नै छ। अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका छन्।

असार १६ देखि १८ सम्म चलेको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो। त्यतिखेर महाधिवेशनको हलमा साविकको पोलिटब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको थियो।

अहिले विधानबमोजिमका विभिन्न क्लस्टरहरू मिलाएर केन्द्रीय समितिलाई पूर्णता दिइएको एकीकृत समाजवादीले जनाएको छ।

यो दल नेकपा एमालेबाट विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको हो। २०७८ भदौ ९ गते निर्वाचन आयोगले दर्ता प्रमाणपत्र दिएको थियो।

नेता जगन्नाथ खतिवडाले भने, ‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाइसकेका छौँ। अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरिएको छ। अब केही दिनभित्र यी सबै केन्द्रीय सदस्यहरूको शपथ समारोह राखिनेछ। त्यसपछि पदाधिकारीहरू छनोट हुनेछ। धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ।’

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०६:४३
Weather Update