
काठमाडौं — एमालेले पूर्वमाओवादी पृष्ठभूमि भएका एमाले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ। पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उनलाई एमालेले पदमुक्त गरेको हो।
‘पार्टीको विधानले लगातार तीनवटा बैठकमा बिना जानकारी अनुपस्थित भए पदमुक्त गर्ने प्रावधान छ। उहाँ लामो समय पार्टीका काममा निष्क्रिय भएकाले स्वतः पदमुक्त हुनुभएको हो,' स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।
बिहीबार बसेको सचिवालय बैठकले थापालाई पदमुक्त गर्ने निर्णय गरेको थियो। एमालेको मूल नेतृत्व (ओली) को कार्यशैली र विचारसँग असहमत भएपछि उनी निष्क्रिय भएका थिए। ‘मणिजी गत निर्वाचनमा पनि पार्टीको काममा खट्नु भएन,’ गौतमले भने, ‘सायद उहाँ साहित्य सृजनामा बढी व्यस्त हुनुहुन्छ होला।’
थापा निकट स्रोतका अनुसार उनले ६ महिनाअघि नै पदबाट राजीनामा दिइसकेका थिए। ‘उहाँले ६ महिनाअघि राजीनामा दिइसक्नु भएको हो,’ स्रोतले भन्यो, ‘एमालेले त्यसलाई स्वीकृत गर्न ढिला गरेको थियो।’ केही समयअघि थापाले एमालेले लिएको राजनीतिक नीतिले अपेक्षा अनुसार नभएकाले विश्राम लिएको बताएका थिए।
उनले पार्टीको काम छाडेर गत वर्ष देशव्यापी जनजागरण अभियान चलाएका थिए। थापाको गतिविधिप्रति ओली असन्तुष्ट थिए। एमालेको २०७८ मङ्सिरको चितवन महाधिवेशनले थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो। तर त्यसपछि उनी पार्टीको काममा निष्क्रिय हुँदै गए। पछिल्लो एक वर्षदेखि उनी पूर्णरुपमा निष्क्रिय रहँदै आएका थिए।
एमाले अध्यक्ष केपी शर्मा २०७८ जेठ संसद् विघटन गर्ने बेला उनी खानेपानी मन्त्री भएका थिए। अदालतको आदेशसँगै उनी पदमुक्त भएका थिए। सर्वोच्चले २०७७ फागुनमा एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीबाट एमाले र माओवादीलाई अलग गरेपछि थापा भने एमालेमै रहेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनी एमालेमै रहेका थिए।
माओवादी शान्ति प्रक्रियामा आउनुअघि नै उनी माओवादी छाडेका उनले माओवादी मूलधारमा आएपछि पुनः सहभागी भएका थिए। माओवादी सशस्त्र युद्धमा उनले साहित्य र सङ्गीत फाँटको जिम्मेवारी पाएका थिए।