
कञ्चनपुर— शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक महिलाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जबाट खटेको प्राविधिक टोलीले शुक्रबार बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको हो। बाघले दोधारा चाँदनी नगरपालिका–२ मा बाघले २३ वर्षीया हीरा शाहको ज्यान लिएर सोही ठाउँको उखुबारीमा घुमिरहेको थियो। बाघलाई उखुबारीबाटै नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए।
उनले बाघ एकदम बेहोस अवस्थामा रहेको र त्यसलाई मजगाउँस्थित निकुञ्जको हेडक्वार्टरमा पुर्याएर चिकित्सकको टिमले चेकजाँच गर्ने बताए। ‘बाघ धेरै बेहोस छ, उठ्छ वा उठ्दैन भन्ने चेकजाँचपछि मात्रै थाहा हुन्छ,’ उनले भने।
बाघलाई हिजो दिनभरि नियन्त्रणमा लिने प्रयास असफल भएको थियो। आज बिहान बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए।
हिजो उखुबारीमा बाघ हिँडेको हिँड्यै गरेपछि प्राविधिक टोली बेहोस बनाउन असफल भएको थियो। हिजो दिनभरि प्रयास गर्दा पनि असफल भएपछि हात्तीसहितको प्राविधिक टोली रातभरि बाघको रेकी गर्दै सोही स्थानमा बसेको थियो। घेरा हालेको ठाउँबाट बाघलाई अन्यत्र जान नदिनको लागि लाइट बालिएको थियो।
त्यसैगरी रातभरि १० वटा ट्याक्टर चलाएर रेकी गरिएको थियो। लाइट र ट्याक्टरको व्यवस्था नगरपालिकाको कार्यालयले गरेको थियो। यस्तै, भोकले उखुबारीबाट बाघ नभागोस् भनेर एउटा पाडो बाँधेर राखेकोमा त्यसलाई खाएको जनाइएको छ।
बाघले मान्छे मारेपछि दोधारा चाँदनी नगर त्रसित बनेको थियो। सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटेका थिए।













