News Griha :: न्यूजगृह
७ महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक
फाइल तस्बिर।

काठमाडौं— सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म ६ लाख ४७ हजार ६१५ विदेशी पर्यटक नेपाल आएका छन्।

जबकी गतवर्षको सोही अवधिमा ५ लाख ३४ हजार २०७ पर्यटक नेपाल आएका थिए। यसवर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६, मेमा ९० हजार २११ पर्यटक नेपाल आएका थिए। साथै जुनमा ७६ हजार ७३६ र जुलाईमा ६४ हजार ५९९ पर्यटनले नेपाल भ्रमण गरेका छन्।

जुलाईमा झण्डै १२ प्रतिशतले बढे पर्यटक 
सन् २०२४ को जुलाईमा विदेशी पर्यटक आगमन झण्डै १२ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको जुलाईको तुलनामा यसवर्षको सोही अवधिमा ११ दशमलव ९ प्रतिशतले विदेशी पर्यटक बढेका हुन्।

यसवर्षको जुलाईमा ६४ हजार ५९९ विदेशी पर्यटक आगमन भएकामा गतवर्षको सोही अवधिमा यो सङ्ख्या ७५ हजार ७२६ थियो। बोर्डका अनुसार सन् २०२२ को जुलाईमा ४४ हजार ४६२, सन् २०२१ मा तीन हजार ६३, सन् २०२० मा १९६ पर्यटक नेपाल आएका थिए।

कोरोना महामारी सुरु हुनुभन्दा अघिल्लो वर्ष अर्थात् सन् २०१९ को जुलाईमा ७० हजार ९१६ विदेशी पर्यटकको नेपाल आगमन भएको थियो। 

जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८६४, चीनबाट ६ हजार ८१९, बेलायतबाट तीन हजार ८०६ र बङ्गलादेशबाट तीन हजार४७० विदेशी पर्यटक नेपाल आएका छन्।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २१:३६
Weather Update