गोरखा— गएराति आएको भीषण वर्षाले गोरखामा एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ।
धार्चे गाउँपालिका– ५ सिङला स्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो।
स्थानीय तेजबहादुर गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै पहिरोमा परी लक्ष्मण गुरुङ, खुमबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ, मानबहादुर गुरुङ र सुन्दराम गुरुङ लगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
उनका अनुसार स्थानीय जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन्। आकाशका बादल लाग्नसाथ पहिरोले घर र मान्छे नै पुर्ने हो कि भन्ने डरले स्थानीयहरू खुला चौर र सुरक्षित ठाउँ तर्फ लाग्ने गरेको उनले बताए।
पहिरोमा परेर ३ जना घाइते भएका छन्।