News Griha :: न्यूजगृह
प्रभु बैंकबाटै गायब भयो ‘फिक्स्ड डिपोजिट’को १ करोड १० लाख

झापा— गत माघ ३ गते झापाका पत्रकार टीकाराम नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरे।

मुद्दती खातामा रकम राखेको प्रमाण लिएर ढुक्क भई नेपाल दम्पती छोराबुहारी भेट्न अमेरिका उडे। करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किए।

६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मङ्गलबार नेपाल पैसा झिक्न बैंक पुगे। बैंकका कर्मचारीले जब सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गरे, तब ६ महिनाअघि राखिएको रकम गायब थियो। त्यो देखेपछि टीकाराम छाँगाबाट खसेझैँ भए।

बैंकबाटै गायब भयो 'फिक्स्ड डिपोजिट'को सवा करोड !‘पैसा लिन जाँदा सबै पैसा गायब थियो,’ टीकारामले बुधबार पत्रकार सम्मेलन गरेर भने, ‘किन र कसरी त्यत्रो रकम गायब भयो? यसको जवाफदेही बैंक हुनुपर्छ।’

बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ। सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन्। बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन्। सिटौला बिर्तामोडस्थित एक होटलमा झोला छाडेर सम्पर्कविहीन भएको पाइएको छ।

प्रहरीले मुचुल्का उठाएर सिटौलाको झोला खानतलासी गरेको थियो। जसमा विभिन्न व्यक्तिको नामको चेकमा किर्ते हस्ताक्षर गरेर रकम झिक्न खोजिएका दर्जनौं चेक, एटीएम कार्ड, बैंक भौचर फेला परेको छ।

बैंकका म्यानेजर गणेशबहादुर बरालले बैंकबाटै सवा करोड गायब भएको घटना मुख्यालयमा जानकारी गराइएको र बिहीबार केन्द्रबाट छानबिन टोली आउने जनाए। बरालले भने, ‘रहस्यमय रूपमा रकम गायब भएको छ, त्यसबारे केन्द्रीय छानबिन टोलीले सत्यतथ्य विवरण बाहिर ल्याउने छ।’

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:३३
Weather Update