
काठमाडौं— नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिदैछन्।
शपथ कार्यक्रम राष्ट्रपति निवास शीतलनिवासमा साँझ पाँच बजेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्।
प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्। उनीहरु तीनै जनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो।