
काठमाडौं— अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ४५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी १४५ जनाको मृत्यु भएको हो।
उनका अनुसार काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी १७४ जना घाइते भएका छन्।
काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी ७३ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता छन्।
बाढीका कारण जम्मा १८४ घर डुबानमा परेका छन्। २४८ वटा घर, ८८ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रवक्ता कार्कीको भनाइ छ।
बाढी पहिरोमा परी ६७२ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ६३ घरपरिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए।













