काठमाडौंमा बाढीः ३६ जनाको उद्धार
-1722400387.jpg)
काठमाडौं— भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ। काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो।
काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।
ललितपुरको यूएन पार्क क्षेत्रबाट डुबान प्रभावित २, सुन्दरीघाटबाट ८, बालकुमारी पुलमुनिबाट १, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ १०:१९













