
काठमाडाैं— नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधि सभाको आजका बैठकको विशेष समयमा उहाँले समावेशी मन्त्रिमण्डल गठन गर्न नेतृत्वको इच्छाशक्ति नदेखिएको टिप्पणी गरिन्।
'समावेशी प्रतिनिधित्व संविधानमा लेखेर मात्रै हुँदो रहेनछ, नेतृत्वको दृढ इच्छाशक्ति भयो भने संविधानमा नलेखे पनि हुँदो रहेछ भन्ने उदाहरण २०१५ सालको संसदीय निर्वाचन र २०१६ कोे मन्त्रिमण्डललाई लिन सकिन्छ,' उनले भनिन्, 'पहिलो आम निर्वाचनपछिको १९ सदस्यीय मन्त्रिमण्डलमा छ जनजाति, दुई मधेसी, थारू र महिला एक–एक जना हुनुहुन्थ्यो।'
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले सुदूरपश्चिमका द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाएको स्मरण गर्दै उनले वर्तमान मन्त्रिपरिषद् गठनमा त्रुटि भएको टिप्पणी गरिन्। राजनीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले सरकारले जनताको आशा र अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरिन्।