
काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू रक्षामन्त्री भएका वेला भ्रष्टाचार गरेका प्रधानसेनापतिलाई पदबाट बर्खास्त गरेको बताएका छन्।
काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘म कडा रक्षामन्त्री थिएँ, प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ, भ्रष्टाचार गरेको हुनाले।’
राजा वीरेन्द्रले एक पटकलाई माफी दिनुस् न भन्दाभन्दै आफूले प्रधानसेनापतिलाई बर्खास्त गरेको पूर्व प्रधानमन्त्री नेपालको भनाइ छ। ‘त्यो बेलामा राजा वीरेन्द्र थिए, वीरेन्द्रले एक पटक माफ दिइदिनुस् न त भने, मैले भने– माफी दिन सकिँदैन, यस्ता मान्छेलाई राखेर सेनाको इज्जत बढ्न सक्दैन,’ उनले भने।
२०४८ साल जेठ १ गतेदेखि २०५२ साल वैशाख २१ गतेसम्म गडुल शमशेर राणा प्रधानसेनापति थिए। भ्रष्टाचारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए।
पूर्व प्रधानमन्त्री नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधान, रक्षा तथा परराष्ट्रमन्त्री थिए।