
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन्।
नेपालका सरकारका सचिवहरूलाई मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको उल्लेख गरे।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सचिवालयद्वारा जारी प्रेस नोटमा छ।
उनले असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहिँ सफल नहुने उनले बताए। ‘भाग्यमा छ भन्दैमा डोकामा दूध दोएर अडिदैन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गरौँ भन्ने अठोट भएको सरकार हो यो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ,’ प्रधानमन्त्री ओलीले भने।
सरकार कति दिन चल्छ भनेर भ्रम फैलाउनेहरूलाई प्रधानमन्त्रीले सन्देश दिए। ‘दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरता सन्देश दिइन्छ। त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन। कर्मचारीहरूले ढुक्कले ठिक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,’ प्रधानमन्त्री ओलीले भने।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न सचिवहरूलाई निर्देशन दिए।