
वीरगञ्ज— नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ रुपैयाँ पुगेको छ।
सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढ्दै गएको छ।
बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम तीन करोड ९८ लाख ९७ हजार ७४८ रुपैयाँ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेबापतको तिर्नुपर्ने बक्यौता रकम आठ करोड ३४ लाख ५९ हजार ६७० रुपैयाँ बक्यौता कायमै छ।
कार्यालयका प्रमुख मन्दीप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए।
‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छ,’ उनले भने, ‘निजी मात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा छ।’
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता एक करोड ८४ लाख ७८ हजार ९७० रुपैयाँ छ। वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता एक करोडभन्दा बढी छ।
ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार ४१७ रुपैयाँ छ। जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार ४४७ रुपैयाँ छ। कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए।
‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ।’