
कास्की— पोखरा महानगरपालिका–२१ छरछरेमा सोमबार भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी छानबिन समिति गठन गरिएको हो। समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ।
समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए।
बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन पनि दिएका छन्।













