
गोरखा — आइतबार धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटको पहिरोमा परेका मध्ये चार जनाको शव भेटिएको छ।
सुलाल कान्छा गुरुङ, उनका छोरा जितबहादुर गुरुङ र बुहारी कान्छी गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा आइतबार एक महिलाको शव भेटिएको थियो।
प्रारम्भिक अनुसन्धान पछि शव गोरखा अस्पताल ल्याइएको थियो। शवको पहिचानको क्रममा रेसेफाँट पहिरोमा परी बेपत्ता बनेकी ३५ वर्षीय कान्छी गुरुङको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी श्रेष्ठले जानकारी दिए।
‘हिजो त्रिशूली नदी किनारमा शव भेटिएको थियो, शवको पहिचानको क्रममा उहाँका आफन्तले कान्छी गुरुङ भएको पहिचान भएको छ,’ उनले भने।
रेसेफाँट पहिरोमा हराएका ५ जनामध्ये चार जना मृत भेटिएका हुन्। ७० वर्षीय सुलाल कान्छा गुरुङ र जितबहादुर गुरुङको पहिरोले पुरेको घर भन्दा २० मिटर तल शव फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए।
त्यस्तै रमेश गुरुङको शव पहिरोले घर बगाएको ठाउँ भन्दा ३० मिटर तल भेटिएको छ। अहिले पहिरोमा बेपत्तामध्ये १ जनाको खोजी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए।













