
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सबइन्जिनियर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दोलखामा ग्रामीण सडकको स्तरोन्नति गर्ने कार्यमा कमिसन लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूले दोलखाको बिगु गाउँपालिका-३ स्थित लाँकुरीडाँडा-पिपलडाँडा ग्रामीण सडक स्तरोन्नति गर्ने क्रममा ८० हजार घुस लिएका थिए।
आर्थिक वर्ष (आव) २०८०–०८१ मा उक्त योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा थापाले सेवाग्राहीसँग ८० हजार रुपैयाँ मागेका थिए। साथै कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई उनले उक्त रकम लिन लगाएका थिए।
आयोगले ८० हजार रुपैयाँ बिगो कायम गरेर शिवाकोटी र शेर्पालाई पनि मुख्य कसुरदार थापा सरह नै सजायको मागदाबी गरेको छ।