
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरू खोलेको जस आफूलाई नचाहिने बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरू पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरू आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए। उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए।
उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरूले खोलेकै होइनौँ भन्नेकुरा आए। ठिक छ, तपाईंहरूले नै खोल्नुभएको हो, हामीलाई जस चाहिएको पनि होइन। काण्डहरू पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो। ३०औं वर्षमा यी काण्डहरू पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो। फाइल तपाईंले नै खोल्नुभएको हो। तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो। जुन फाइलमा प्राण थियो। त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिश गरेका हौँ।’
सभापति लामिछानेले आफू सरकारमा कुनै पनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गरे।