News Griha :: न्यूजगृह
धार्चे पहिरो अपडेटः बेपत्ता ३ जनाको शव भेटियो, २ जनाको खोजी जारी

गोरखा— उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ।

६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जितबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए।

गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित फिस्लिङ नदी किनारमा एक महिलाको शव फेला परेको थियो। उक्त शव कान्छीमायाको भएको प्रहरीले पुष्टि गरेको छ।

आइतबार बिहान करिब तीन बजे गएको पहिरोमा पुरिएर सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र सोही फर्ममा ट्याक्टर चालकको रुपमा काम गर्ने २४ वर्षीय रमेश परियार बेपत्ता भएका छन्।

उनीहरूको भने खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:५२
Weather Update