News Griha :: न्यूजगृह
सहकारीको रकम अपचलन गरेर विदेश भागेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

काठमाडौं— सहकारी छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भएर विदेशमा रहेकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो।

‘सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई समितिले निर्देशन दिएको छ,’ बैठकपछि सभापति सूर्य थापाले भने, ‘कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्दैछौँ। सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।’ 

समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नु पर्नेहरूको नाम गृहमन्त्रीलाई दिएको छ। बैठकमा गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनकारी दिएको पनि सभापति थापाले जानकारी दिए।

भोलि बस्ने समितिको बैठकमा  सकारात्मक ढङ्गले सञ्चालन भइरहेका सहकारी सञ्चालकरूलाई छलफलका लागि बोलाएको छ। 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:४२
Weather Update