
काठमाडौं— सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकको छलफल गर्न बनेको कार्यदलको बैठक सकिएको छ। सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठक २ घण्टा बसेर सकिएको हो।
बैठक फेरि बिहीबार बिहान बस्नेगरी स्थगित भएको नेकपा एमालेका मुख्य सचेतक तथा संयन्त्रका सदस्य महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाले अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि बिहीबार छलफल गर्ने बताए।
‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ। त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने कुरा भएको छ। सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ,’ उनले भने।
संयन्त्रको बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, संसद्को कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियो।
यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल भएको थियो।