
झापा — भद्रपुरका फुटबलर गम्भीर राईको निधन भएको छ।
भद्रपुर नगरपालिका—१० चन्द्रगढी बजार निवासी ५६ वर्षीय गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको परिवारले जनाएको छ।
उनी केही दिनदेखि बिरामी थिए। गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए। उनी यू-१६, यू-१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए।
उनी एनआरटी, मनाङ मर्स्याङ्दी जस्ता चर्चित क्लबमा लामो समय फुटबल खेलेका थिए। उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालेका उनले २०५६ सालमा फुटबलबाट सन्यास लिएका थिए।
उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरे। फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै भद्रपुर झापा गोल्डकपले २०७९ फाल्गुन १७ गते उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो । उनको जन्म २०२५ साल फागुन ५ गते भएको थियो।
उनका छोरा विशाल राई पनि फुटबल खेलाडी हुन्।













