News Griha :: न्यूजगृह
पत्रकारलाई कुटपिट गर्ने पाँचजना पक्राउ

कास्की— गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प भएको बारेमा समाचार सङ्कलनमा पुगेका पोखराका दुई पत्रकारमाथि हातपात गरको आरोपमा पाँचजना पक्राउ परेका छन्।

ट्याक्सी चालक सूर्यबहादुर नेपाली, मजदुर बुद्धिबहादुर बयलकोटी र  बसको सहचालक प्रशान गुरुङ पक्राउ परेका हुन्। यस्तै ट्याक्सी चालक सन्तोष बस्नेत र टङ्कबहादुर क्षेत्री पक्राउ परेको प्रहरीले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आइतबार प्रदेशमा सार्वजनिक यातायात बन्द गरिएको थियो।

गण्डकी प्रदेश सरकारले निजी दुईपाङ्ग्रे एवं चारपाङ्ग्रे सवारी साधनलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागू गर्न लागेको विषयको विरोधस्वरूप भाडाका सवारी साधन नचलाई बन्द गरेको विषयमा रिपोर्टिङ गरिरहेका दुई पत्रकारमाथि पृथ्वीचोकमा कुटपिट भएको थियो।

गण्डकी भ्वाइस अनलाइन मिडियाका व्यवस्थापक र निर्देशक सुरज थापा र पोखरा टेलिभिजनकी रिपोर्टर विनाकुमारी थापामाथि कुटपिट भएको हो। कुटपिटमा परेका दुवैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए।  

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०७:५७
Weather Update