
कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।
मन्त्री थापाले सरकारको नीति विपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उनलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले भने, 'प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो।'
नेपाली कांग्रेस र नेकपा एमालेको माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३) अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ।
अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएकी थिइन्। बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुन्। प्रदेश सरकारबाट एमाले बारिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन्।
उनले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ। प्रदेशसभाको आजको दोस्रो बैठकको विषेश समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए।