News Griha :: न्यूजगृह
उद्योगी व्यवसायीका समस्याप्रति मधेस सरकार गम्भीर छ : मुख्यमन्त्री सिंह

धनुषा— मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। 

जनकपुरधाममा आइतबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, 'मैले व्यवसायीहरूका समस्या बुझेको छु, उनीहरूलाई भारतबाट सामान ल्याउन समस्या भइरहेको छ। करको झन्झट छ, भन्सार कार्यालयमा दक्ष जनशक्ति अभावले पनि काम गर्न कठिनाइ भएको छ।'

मधेसमा बेरोजगारी अत्यधिक रहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले यसलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको बताए। धनुषा र सिरहामा कमला नदीको बगर क्षेत्रमा खेतीपाती गरी रोजगारी सिर्जना गर्ने प्रदेश सरकारको योजना रहेको उनको भनाइ थियो। 

मधेसमा स्थापना भएका उद्योगमा स्थानीयले रोजगारी नपाएको भन्दै उनले त्यसतर्फ ध्यान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे। 

'व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्दा स्थानीयलाई रोजगारी दिनुपर्छ,' मुख्यमन्त्री सिंहले भने। 

उद्योगी व्यवसायीको हकहितका लागि प्रदेश सरकार सकारात्मक रहेको र यसका लागि नीति निर्माण तहमा समेत सरोकारवालालाई सहभागी गराइने उनले प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:३८
Weather Update