News Griha :: न्यूजगृह
गोरखा पहिरो: घाइतेलाई उपचार गर्न हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
घटनास्थल

गोरखा— उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गएराति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं लगिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलास एअरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए।

स्थानीय जितबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका थिए। बेपत्ता हुनेहरूमा ३७ वर्षीय जितबहादुरसहित उनका बुबा ६० वर्षीय सोलाल कान्छा, उनकी श्रीमती ३५ कान्छी तथा ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार छन्।

गएराति पहिरो जाँदा जितबहादुरले सञ्चालन गर्दैआएको कृषि फर्म र नजिकै रहेको एउटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उद्धारका लागि जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:२७
Weather Update