News Griha :: न्यूजगृह
रास्वपाको कारबाहीविरुद्ध मुकुल ढकाल निर्वाचन आयोगमा

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले असार २५ मा पदबाट हटाएको थियो। उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।

पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवेदनमा लेखेका छन्।

राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन्।

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ। कारबाही विधिसङ्गत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ।  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:३२
Weather Update