News Griha :: न्यूजगृह
रौतहटमा दलित बालिकामाथि सामूहिक बलात्कार, २२ दिनपछि मुद्दा दर्ता
प्रतीकात्मक तस्बिर।

रौतहट— रौतहटको गुजरा नगरपालिकाकी एक दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ। घटना भएको २२ दिनपछि मुद्दा दर्ता भएको छ। मुद्दा दर्तापछि मात्रै घटना सार्वजनिक भएको हो।

घटनापछि केही स्थानीय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका थिए। आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा गत साउन ७ गते मुद्दा दर्ता भएको हो। पीडित र पीडक गुजरा कै भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा इलाका प्रहरी कार्यालय गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।

आरोपित गुजरा– ४ कनकपुर गाउँका वर्ष २० को शेख ईञ्जमाम, वर्ष २१ को शेख मुस्ताक, र वर्ष २५ को दीपेन्द्र कुमार दासविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।

घटना विवरण अनुसार आरोपित मध्ये एकजनाले १७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन दिई ललाइ फकाई गत असार १५ गते दिउँसो कटहरिया–२ कनकपुर जमुनिया गाउँ बीचको चौरमा लागेका थिए।

पहिलेदेखी त्यहाँ लुकिबसेका अन्य दुई आरोपितसहित तीनैजनाले बालिकालाई पालै पालो बलात्कार गरी भिडिओसमेत बनाएका थिए।

घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानीय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरूले परिवारमाथि दिएको दबाबको कारण घटना बाहिर आउन सकेन।

भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको बिभिन्न धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जानसकेका थिएनन्।

घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामाले यसबारे जानकारी पाएर प्रहरीलाई जानकारी गराएकी थिइन्।

लगत्तै पीडित परिवारले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको हो।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:१७
Weather Update