दाङमा गुडिरहेको एक ट्रकमा आगलागी
घोराही— दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।
आइतबार बिहान ४ बजेतिर लमही नगरपालिका–९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा ट्रकमा आगलागी भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार वायरिङ सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ।
ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। ट्रकमा चालकसहित तीन जना सवार थिए।
आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्।
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ ११:५४













